अदालतले कानून र हराएको तथ्य पत्ता लगाई न्याय दिन्छ ः कामु प्रधानन्यायाधीश जोशी

 

काठमाडौँ, ३ असोज ः कामु प्रधानन्यायाधीश दीपकराज जोशीले अदालतले कानून र हराएको तथ्य पत्ता लगाई न्याय दिने बताउनुभएको छ । 

संवैधानिक कानून व्यवसायी मञ्चद्वारा आज आयोजित ‘संविधानको कार्यान्वयनको अवस्था’ विषयक संविधान बहस कार्यक्रममा उहाँले न्याय सेवालाई सुदृढ र छिटो बनाउनका लागि तल्लोस्तरका अदालत र त्यहाँका कर्मचारीदेखि नै प्रशिक्षण जरुरी भएको बताउनुभयो । 

कामु प्रधानन्यायाधीश जोशीले भन्नुभयो, “संविधानमा जे लेखिएको छ, त्यही रुपमा व्याख्या गर्नुपर्छ, तर कानून व्यवसायीले कानून एउटा, ब्याख्या अर्को पनि गर्ने गरेको पाइएको छ, त्यसमा ध्यान दिन जरुरी छ ।” 

उहाँले हालसम्म सातवटा संविधान जारी भएको भनिएपनि आफूलाई नेपाल अधिराज्यको संविधान–२०१५ र नेपालको संविधान २०७२ मात्र वास्तविक संविधान भएको महसुस भएको उल्लेख गर्नुभयो । 

कानूनविद् तथा नेता नीलाम्बर अचार्यले ‘संविधान कार्यान्वयन र यसका चुनौती’ विषयक कार्यपत्र प्रस्तुत गर्दै संविधानमा राम्रा कुरा व्यवस्था गरेर नहुने भन्दै हिजोका नेतृत्वका बानी, सोच, भागबण्डा, स्वार्थले काम नगरी संविधानको गुणस्तरीय कार्यान्वयनमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । 

अधिवक्ता सरोज घिमिरेले ‘संविधान र यसको सफल कार्यान्वयनका आधारहरु’ विषयक कार्यपत्र प्रस्तुत गर्दै संविधानमा जतिसुकै उन्नत व्यवस्था गरिए तापनि कार्यान्वयन भएन भने त्यसको कुनै अर्थ नहुने बताउनुभयो । 

वरिष्ठ अधिवक्ता विश्वकान्त मैनालीले संविधान नेपाली जनताको भविष्यको साहारा भएको हुँदा संविधानमा राम्रो भाषा लेखिएर नहुने कार्यान्वयनमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । 

अर्का वरिष्ठ अधिवक्ता राघवलाल वैद्यले अंश मुद्दा, विभिन्न छनोटका मुद्दा हेर्नलाई संवैधानिक इजालासमा तोकेर सही न्याय नहुने उल्लेख गर्दै कार्यापालिकाले न्यायपालिकामाथि महाअभियोग लगाएको विषयमा पनि गम्भीर छलफल जरुरी भएको बताउनुभयो । 

प्राध्यापक लोकराज बरालले संविधान कार्यान्वयन गर्न दलीय प्रतिबद्धता जरुरी रहेको र कानुनी संरचना बलियो बनाउँदैमा व्यवहारमा थेग्न नसकिने कुरालाई पनि ध्यान राख्नुपर्ने धारणा राख्नुभयो । 

अधिवक्ता राजु चापागार्इंले दण्डहीनतालाई बुझ्दा द्वन्द्वकालीन अपराध मात्र नभई जातीय विभेद, छुवाछूत, लैङ्गिक हिंसाजस्ता कुरालाई लिएर विश्वले हेरिरहेकोे हुँदा संविधानको यान्त्रिक नभई गुणस्तरीय कार्यान्वयन जरुरी छ भन्नुभयो । 

अधिवक्ता लीलाधर उपाध्यायले न्यायपालिका बचाउन कार्यपालिकाको बेलाबेलामा हुने हस्तक्षेपबाट बचाउनुपर्नेमा जोड दिनुभयो । 

Comments

Popular posts from this blog

Muluki Ain (Civil Code) Bill passed

मेक्सिकोमा शक्तिशाली भूकम्प, १०० भन्दा बढीको मृत्यु, उद्घारकार्य जारी, ठूलो जनधनको क्षतिको अनुमान

Las Vegas Shooting Near Mandalay Bay Is Said to Kill at Least 20