बौद्ध दर्शनमा नारीप्रति समानताको दृष्टिकोण

 

काठमाडौँ, ५ असोज ः मानिस–मानिसबीच शान्ति, सद्भाव तथा भाइचाराको सन्देश दिने बौद्घ धर्ममा आजभन्दा दुई हजार ६०० वर्षअघि नै नारीलाई पनि समान दृष्टिकोणबाट हेरिएको पाइन्छ । 

भारतको बुद्घगयामा सम्बोधी ज्ञान लाभ गरिसकेपछि भगवान् गौतमबुद्घले पञ्चशील, आर्यअष्टाङ्गिक मार्गजस्ता महत्वपूर्ण ज्ञान विश्वलाई दिनुभयो । 

उचनिच कोही छैन, समानता र भ्रातृभावलाई विशेष महत्व दिने बौद्घ धर्ममा नारीलाई पनि पुरुषलाई जत्तिकै बराबर अधिकार प्रदान गरिएको नेपाल प्रज्ञा–प्रतिष्ठान दर्शन विभाग तथा धर्मकीर्ति विहार संरक्षण कोषद्वारा संयुक्तरुपमा बुधबार आयोजित ‘बौद्ध दर्शन, प्रजापति गौतमी र नारी स्वतन्त्रता’ विषयको अन्तक्रियामा सहभागी वक्ताले सो धारणा राख्नुभएको हो । 

भगवान् बुद्घकी आमा महामाया देवीको निधनपछि सिद्धार्थ गौतमलाई पालनपोषण गरी हुर्काउनुभएकी कान्छी आमा प्रजापति गौतमी प्रवज्या भई भिक्षुणी बन्ने पहिलो महिला हुनुभएको थियो । 

बुद्घ शासनमा भिक्षु संघ स्थापना भएको छ वर्षपछि प्रजापति गौतमीको नेतृत्वमा भिक्षुणी संघ स्थापना भएको थियो । त्यसरी पुरुष तथा महिला दुवैलाई भिक्षु बन्ने अधिकार दुई हजार ६०० वर्ष अगाडि भगवान् बुद्धले दिनुभएको समानताको सन्देश निकै महत्वपूर्ण रहेको उहाँहरुको भनाइ थियो । 

प्रजापति गौतमीले आफूसाथ ५०० महिलालाई पनि प्रवज्जित गरी भिक्षुणी बनाउनुभएको थियो । हाल विश्वका रुस, चीन, मंगोलिया, जापान, नेपाल, भारतजस्ता थुप्रै मुलुकमा लाखौँको संख्यामा प्रवज्या लिई भिक्षुणी हुने महिला रहेका छन् । 

विश्वमा हाल एक अर्ब ६० लाखले बौद्ध धर्म अनुसरण गरेका छन् भने यो संसारको दोस्रो ठूलो धर्मका रुपमा मानिन्छ । सो कार्यक्रमको उद्घाटन गर्दै भिक्षु निग्रोधले प्रज्ञा नै मानिसको रत्न हो भन्नेमा विश्वास गर्ने बौद्ध दर्शनमा प्रलोभन, साम, दाम दण्ड भेदजस्ता विकृति हुँदैन भन्नुभयो । 

उहाँले सम्राट अशोकसहित अरु धेरै राजालाई युद्धबाट शान्तिमा फर्काइ बुद्धमय बनाउनुभएको चर्चा गर्नुभयो । भिक्षु निग्रोधले भन्नुभयो, “पितृसत्तात्मक नेपालमा अहिले पनि महिलालाई समान दृष्टिकोणले हेरिँदैन र उनीहरुमाथि भेदभाव हुन्छ । तर बुद्ध शासनमा पुरुष महिला दुवैलाई बराबरी अधिकार हुन्छ । यस्तो महान् सभ्यता भएको बुद्धधर्म नेपालबाट दुई हजार ६०० वर्षअघि नै शुरु भएको छ ।” 

प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले शान्ति, समानता तथा भातृभावमा आधारित भएकाले बौद्ध दर्शनप्रतिको आकर्षण पूर्वी एशिया, दक्षिण पूर्वी एशियासहित विश्वका धेरै मुलुकका जनतामा बढ्दै गएको बताउनुभयो । 

धर्मकीर्ति विहारका भिक्षुणी विर्यवती गुरुमाले भगवान् बुद्धले नारीको स्वतन्त्रताका लागि दुई हजार ६०० वर्षअघि नै धेरै अधिकार दिएर जानुभएको बताउनुभयो । 

लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति डा नरेशमान बज्राचार्यले बुद्धकी कान्छी आमा प्रजापति गौतमीले ५०० महिलालाई भिक्षुणी बनाउने काम निकै महत्वपूर्ण भएको भन्दै यसलाई विश्वमा प्रचारप्रसार गर्नुपर्ने बताउनुभयो । 

कार्यपत्र प्रस्तुत गर्दै सहप्राध्यापक उर्मिला ताम्राकारले भगवान् बुद्धले ८४ हजार धर्मस्कन्ध दिएर जानुभएको जानकारी दिँदै समाजका हरेक वर्ग, समुदाय, जातजाति तथा मानवको समस्या समाधान बौद्ध दर्शनमा रहेको बताउनुभयो । 

प्रतिष्ठानका उपकुलपति विष्णुविभू घिमिरे तथा दर्शन विभागका प्रमुख दिनेशराज पन्तलगायतले भगवान् बुद्धको ज्ञान व्यवहारमा उतार्नुपर्नेमा जोड दिँदै मानव–मानवबीच समान व्यवहार गर्न सकेमा बुद्ध धर्मको सही प्रयोग मानिने बताउनुभयो ।

Comments

Popular posts from this blog

Muluki Ain (Civil Code) Bill passed

मेक्सिकोमा शक्तिशाली भूकम्प, १०० भन्दा बढीको मृत्यु, उद्घारकार्य जारी, ठूलो जनधनको क्षतिको अनुमान

Las Vegas Shooting Near Mandalay Bay Is Said to Kill at Least 20